काठमाडौं। आईसीसीको आयोजनामा हुने पुरुष टी–२० विश्वकप क्रिकेटको दशौँ संस्करण आजदेखि औपचारिक रूपमा प्रारम्भ हुँदैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित विश्वका उत्कृष्ट २० टोलीले सहभागिता जनाएका छन्।
विश्वकपको उद्घाटन खेलमा आज पाकिस्तान र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। त्यसैगरी आजै हुने अर्को खेलमा वेष्ट इन्डिज र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा कुल ५५ खेल खेलाइने कार्यक्रम रहेको छ।
भारतसँगको द्विपक्षीय सम्बन्धमा उत्पन्न तनावका कारण बंगलादेशले विश्वकपमा सहभागिता नजनाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको हो। यस्तै, पाकिस्तानले पनि भारतको भूमिमा खेल्न र भारतसँग प्रतिस्पर्धा गर्न अस्वीकार गर्दै आएको छ। यद्यपि आईसीसीले उक्त निर्णय पुनर्विचार गर्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरिरहेको बताइएको छ।
यस संस्करणको टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको अनुभव बटुलिसकेको छ। यो विश्वकप नेपालका लागि समग्रमा तेस्रो र लगातार दोस्रो सहभागिता हो। प्रतियोगितामा नेपालको पहिलो खेल आइतबार इङ्ग्ल्यान्डसँग हुनेछ। उक्त खेल मुम्बईस्थित रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
विश्वकपअघि खेलेका दुई अभ्यास खेलमा नेपालले युएइ र क्यानडालाई पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको छ। अभ्यास खेलमा देखाएको उत्कृष्ट प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च रहेको देखिन्छ। त्यसैले इङ्ग्ल्यान्डविरुद्धको पहिलो खेललाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
समूह चरणमा नेपालको दोस्रो खेल माघ २९ गते इटालीसँग हुनेछ। त्यसपछि फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्ने तालिका तय गरिएको छ।
प्रतियोगिता अघि आयोजित कप्तानहरूको अन्तरक्रिया कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको तयारी सन्तोषजनक रहेको बताउँदै विश्वकपमा राम्रो नतिजा ल्याउने आत्मविश्वास व्यक्त गरेका छन्। पछिल्ला प्रतियोगिता र शृङ्खलामा देखाएको प्रदर्शनलाई निरन्तरता दिन सकिने उनको भनाइ छ।
आईसीसी टी–२० विश्वकपको दशौँ संस्करणमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा पाँच–पाँच टोली रहनेछन्। समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर–८ चरणमा प्रवेश गर्नेछन्। सुपर–८ मा पुनः दुई समूह बनाइनेछ र त्यस चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलपछि फागुन २४ गते फाइनल खेल हुँदै विश्वकप विजेताको टुंगो लाग्नेछ।
तेस्रो पटक विश्वकप खेल्दै नेपाल
करिब चार महिना अघि ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा च्याम्पियन बन्दै नेपालले सन् २०२६ मा हुने विश्वकपका लागि स्थान सुरक्षित गरेको हो। यससँगै नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको छ।
नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकपमा सहभागिता जनाएको थियो। पहिलो सहभागितामै नेपालले तीनमध्ये दुई खेल जित्दै विश्व क्रिकेटलाई चकित पारेको थियो। त्यसपछि हरेक संस्करणमा नेपाली क्रिकेट समर्थकले नेपाललाई पुनः विश्वकपमा देख्ने अपेक्षा राख्दै आएका थिए। तर दोस्रो सहभागिताका लागि नेपालले झन्डै एक दशक कुर्नुपर्यो।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको पछिल्लो टी–२० विश्वकपमा नेपालको प्रदर्शन र उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो। विशेष गरी दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध घरेलु टी–२० शृङ्खला जितेर नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो।
यस पटकको विश्वकपमा पनि नेपाली टोलीलाई पालो हेर्नलायक टोलीका रूपमा हेरिएको छ। छनोट चरणमा देखाएको निरन्तरता र पछिल्ला उपलब्धिले नेपाली क्रिकेटले फेरि एकपटक विश्वमञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएको छ।
खेल तालिकाअनुसार नेपाल समूह ‘सी’ मा परेको छ। उक्त समूहमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्याण्ड रहेका छन्। इटालीका लागि भने यो पहिलो पटक क्रिकेट विश्वकप खेल्ने ऐतिहासिक अवसर हो।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया