काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘
संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो ।
अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन् ।
घोषणापत्रलाई कांग्रेसले निरन्तरतामा नवीनताका रुपमा व्याख्या गरेको छ। ‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा राखिएको घोषणापत्रमा प्रशासनका झन्झटिलो काम अन्त्य गर्ने, फोहोर व्यवस्थापनको दिगो उपाय खोज्ने, संसद् विघटन नगर्नेलगायत संकल्प गरिएको छ।
५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ ।’ वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो ।
प्रकाशित मिति: १२ कार्तिक २०७९, शनिबार
प्रतिक्रिया