काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) अनुसार आज मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १९२ एक्युआई मापन गरिएको छ।
यसअघि आइतबार १७५ एक्युआई मापन भएको प्रदूषण मंगलबार बढेर १९२ पुगेको थियो। आज पनि प्रदूषणको स्तर घट्न नसकेको वातावरण विभागले जनाएको छ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषक तत्व थुप्रिँदै गएको बताए। “उपत्यका कचौरा आकारको भएकाले हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण बाहिर जान सक्दैन। धुवाँ–धुलो हावामै तैरिएर बसिरहेको हुन्छ,” उनले भने।
उनका अनुसार उद्योग–कलकारखानाको सञ्चालन, तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधि तथा सीमापार (क्रस–बोर्डर) बाट भित्रिने प्रदूषणले पनि हावाको गुणस्तरमा नकारात्मक प्रभाव पारेको छ। वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै बढ्न सक्ने चेतावनी उनले दिए।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा भारतको नयाँदिल्ली सूचीकृत भएको छ, जहाँ २४७ एक्युआई मापन गरिएको छ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ०–५० एक्युआई राम्रो (हरियो संकेत), ५१–१०० सावधानी अपनाउनुपर्ने (पहेंलो संकेत) मानिन्छ। १०१–१५० एक्युआई अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्त खतरनाक स्तर मानिन्छ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा फोहर बाल्न रोक लगाउने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य प्रकारका प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति लिइएको छ। साथै प्रमुख सहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया