काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारीमा रहेका राजावादी समूहलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस प्रकारका कार्यक्रम गर्न नपाइने भन्दै प्रशासनले बन्देज लगाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबार जारी गरेको सूचनामा विमानस्थल र आसपास क्षेत्रमा प्रदर्शन तथा र्याली आयोजना गर्ने विषय सामाजिक सञ्जालमार्फत प्रचारित भइरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ। यस्ता कार्यक्रमका लागि हालसम्म कसैले पनि जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति नलिएको जनाइएको छ।
सूचनामा निर्वाचनको सन्दर्भ, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, तथा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि जुलुस, प्रदर्शन, हडताल, र्याली वा भेला नगर्न/नगराउन आग्रह गरिएको छ। साथै सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गर्न प्रेरित वा उक्साउने कार्य नगर्न चेतावनी दिइएको छ।
प्रशासनले निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया