काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा तोकिएको पेसी रायमाझीतर्फका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको हो।
रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) अनुसार थुनामुक्त गरिनुपर्ने माग गर्दै निवेदन दिएका थिए। जिल्ला अदालत काठमाडौंले उक्त निवेदन अस्वीकार गरेपछि उनीहरू उच्च अदालत पाटन पुगेका हुन्।
पुस २५ गते रायमाझीले दफा ७१ (२) बमोजिम जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनले उच्च अदालतमा पुनरावेदन दिएका हुन्।
यस्तै, बेचन झाले पनि जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) मा दफा ६७ वा ६८ बमोजिम थुनामा परेको अभियुक्त कसुरदार नभएको प्रमाणित हुन सक्ने मनासिब आधार देखिएमा मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि सुनुवाइ गरी अदालतले थुनाबाट रिहा गर्न सक्ने व्यवस्था छ।
उक्त प्रकरण हाल उच्च अदालत पाटनमा विचाराधीन छ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया