दैलेख। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ।
नेपाल सरकारलाई बुझाइएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार, चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले विस्तृत अध्ययन गरेर सो तथ्याङ्क पेस गरेको हो। खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार, प्रारम्भिक अध्ययनले मात्र यहाँ एक अर्ब १२ करोड घनमिटर ग्यास हुने अनुमान गरेको थियो। तर अन्तिम परीक्षणले पूर्वानुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको पुष्टि गरेको छ।
प्रवक्ता खड्काले भने, “अहिले हामीले केवल भण्डारणको परिमाण मात्र पत्ता लगाएका हौँ। व्यावसायिक उत्पादन र उत्खनन क्षमता ‘वेल टेस्टिङ’ पछि मात्र निश्चित हुनेछ। कति ग्यास निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्ने परीक्षण नगरी अन्तिम निष्कर्ष निकाल्न सकिँदैन।”
उनी थपे, अबको चरणमा ड्रिल गरिएको स्थानमा विशेष उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यास विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि ग्यासमा भएका तत्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादन अगाडि बढाइनेछ।
नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीले सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको प्रवक्ता खड्काले जानकारी दिए।
अन्तिम प्रतिवेदन प्राप्त भएपनि विभागले थप अध्ययन जारी राखेको छ भने बाँकी कामका लागि नेपाल सरकारले चीन सरकारसँग अनुदान सहयोग माग गरेको छ। विशेषज्ञका अनुसार, दैलेखमा फेला परेको ग्यास ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ, जसलाई अमेरिकामा पनि उत्खनन गर्न चट्टान फोड्ने विधि अपनाइन्छ।
व्यावसायिक प्रयोजनका लागि ग्यास निकाल्न चट्टान फुटाउनुपर्ने भएकाले चुनौतीपूर्ण प्रक्रिया रहन्छ। दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार बनाएर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो। आगामी फागुन २१ को निर्वाचनमा पनि दैलेखका राजनीतिक दलहरूले यस ग्यास उत्खननलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन्।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया