काठमाडौं। नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशवादी अभियानले वर्तमान सरकारलाई ‘सत्ता अपहरणकारी जमात’को संज्ञा दिँदै यसको नेतृत्वमा हुने निर्वाचन अवैध हुने दाबी गरेका छन्।
दुवै संस्थाले बिहीबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा देशको समसामयिक राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विदेशी एजेन्डामा निर्माण हुने सरकार आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “विदेशीको एजेन्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नभएको ठहर गर्दै हामी आगामी सरकारलाई स्वीकार गर्दैनौं।”
उनीहरूले गत भदौ २४ गते भएका हत्या, हिंसा र आगजनीका घटनामा संलग्न योजनाकारहरूलाई कानुनी दायरामा नल्याई गरिने चुनाव ‘धोका’ हुने दाबी गरेका छन्। विज्ञप्तिमा उल्लेख गरिएको छ, “भदौ २४ गतेको हत्या–हिंसा र आगजनीमा संलग्न योजनाकारहरूलाई कारबाही नगरी गरिने चुनाव जनतामाथिको धोका हो।”
त्यस्तै, पूर्व प्रधानन्यायाधीशलाई वर्तमान संविधानले नचिन्ने भन्दै उनको नेतृत्वमा हुने निर्वाचनलाई अवैध ठहर गरिएको छ। विज्ञप्तिमा वर्तमान सरकारलाई अपहरणकारीको संज्ञा दिँदै यसलाई चुनाव गराउने नैतिक तथा संवैधानिक अधिकार नरहेको दाबी गरिएको छ।
संस्थाहरूले आगामी चुनावी परिणामले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति–खेलको मैदान बनाउने खतरा रहेको चेतावनी पनि दिएका छन्। यस्तो अवस्था सहन नसकिने भन्दै तत्काल सर्वपक्षीय स्वदेशवादी नागरिक सरकार गठन गरी निष्पक्ष र न्यायपूर्ण चुनाव गराउन माग गरिएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया