काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काभ्रेपलाञ्चोक क्षेत्र नं २ का उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय देखिएका छन्। तर भुम्लु गाउँपालिकामा भने मतदाताले अन्यत्रभन्दा फरक र पुरानो माग अघि सारेका छन्—‘५० वर्षदेखि थाँती रहेको लालपुर्जाको समस्या कहिले समाधान हुन्छ?’
गाउँपालिकाको वडा नं ७ र ८ का बस्तीमा पुग्ने उम्मेदवारलाई स्थानीयले एउटै प्रश्न दोहोर्याइरहेका छन्। फलाँटे र भुम्लुटारका बासिन्दाले दशकौँदेखि लालपुर्जाविहीन अवस्थाबाट गुज्रिरहेको समस्या समाधान गरिदिन आग्रह गर्दै आएका छन्।
“हामीलाई अरू केही चाहिँदैन, अड्किएको लालपुर्जा छिटो दिलाइदिनुस्,” वडा नं ७ का सन्त तामाङले उम्मेदवारसँग भने। उनका अनुसार अघिल्ला सरकारहरूले आश्वासन दिए पनि सबैले पुर्जा पाउन सकेका छैनन्।
विवादले रोकियो नापी, आधाले मात्रै पाए पुर्जा
विसं २०३२ मा साविक पिपलटार र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिनको सीमांकनमा विवाद हुँदा नापी टोली फर्किएको थियो। त्यसयता समस्या समाधानका विभिन्न प्रयास भए पनि हालसम्म करिब १,२०० स्थानीय लालपुर्जाविहीन छन्। गत भदौदेखि प्रक्रिया अघि बढाइएपछि करिब ५० प्रतिशतले मात्रै लालपुर्जा पाएका छन्।
स्थानीय रमेश खरेलका अनुसार नापी र मालपोत कार्यालयमा कागजात अपुग तथा जग्गा पहिचानमा समस्या देखिएकाले वितरण प्रक्रिया जटिल बनेको छ। रसिदका आधारमा किनबेच हुँदै आएकाले फिल्डबुक र हालको अभिलेखबीच मेल नखाँदा छानबिनमा थप सकस भएको उनी बताउँछन्।
भूकम्पपछि थप समस्या
२०७२ सालको गोर्खा भूकम्पपछि आवास निर्माणलगायत काममा लालपुर्जा अभावले स्थानीयलाई ठूलो असर पारेको थियो। अहिले पनि बैंक ऋण, घरजग्गा कारोबार र सरकारी सेवा लिन समस्या भइरहेको उनीहरूको गुनासो छ।
उम्मेदवारको प्रतिबद्धता
यस साता भुम्लु पुगेका एमाले उम्मेदवार अशोक ब्याञ्जूले समस्याको गम्भीर अध्ययन गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्यले पनि “देखिएका अप्ठेरा फुकाएर लालपुर्जा वितरणलाई टुंगोमा पुर्याउने” बताएका छन्।
स्थानीय पूर्णबहादुर श्रेष्ठले भने, “हाम्रो जमिनको निष्पक्ष छानबिन गरी पुर्जा दिलाउने प्रतिबद्धता जनाउनेलाई मात्रै मत दिन्छौँ।”
प्रशासनको भनाइ
जिल्ला नापी कार्यालयका अनुसार हालसम्म करिब ६०० जनाले लालपुर्जा पाइसकेका छन्। गत भदौ ३ गतेदेखि औपचारिक रूपमा वितरण प्रक्रिया सुरु गरिएको थियो।
नापी अधिकृत लवप्रसाद कुइँकेलका अनुसार विगतमा रसिदका आधारमा किनबेच भएकाले लगत मिलानमा समस्या देखिएको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पनि मालपोत र फिल्डबुकबीच नाम फरक देखिँदा प्रक्रिया जटिल बनेको बताए।
निर्वाचन तथ्यांक
काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा कुल ४२ जनाको उम्मेदवारी दर्ता भएको छ—क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ जना। तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्। जिल्लामा तीन लाख २६ हजार ६११ मतदाता रहेका छन्।
दशकौँदेखिको लालपुर्जा समस्या भुम्लुका मतदाताका लागि यसपटकको निर्वाचनमा निर्णायक मुद्दा बन्ने संकेत देखिएको छ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया