सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले नयाँ पार्टीमा भोट दिन चाहने मतदातालाई कांग्रेस नै विकल्प भएको बताएका छन्। धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले कांग्रेसले आफ्नो विरासत बोकेर नयाँ नेतृत्व र नीतिसहित देशको सेवा गर्न आएको स्पष्ट पारे।
सभापति थापाले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। कांग्रेसले आफ्नो विरासतसँगै नयाँ रूप र नीति लिएर आएको छ।’
युवा सहभागिताप्रति खुसी व्यक्त गर्दै उनले भन्नुभयो, ‘देशको नेतृत्व युवाको काँधमा छ। धनकौलमा जेन-जेड पुस्तासहितका युवाहरू सक्रिय देखेर म धेरै खुशी भएको छु। उहाँहरूको विचार र क्षमता कदरयोग्य छ।’
थापाले मधेशको विकासका लागि शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रलाई प्राथमिकता दिइने बताए। उनले युवाहरूलाई कांग्रेसको मूल्य र योगदान आफ्नो परिवार र समाजमा प्रवर्द्धन गर्न आग्रह गरे। ‘मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य चुनौती हो। त्यसको लागि युवाहरूले जिम्मेवारी लिनु आवश्यक छ। म मेरो टिमसँग पनि यही कुरा बताएका छु,’ उनले भने।
सभापति थापाले कांग्रेसमा देश चलाउने अनुभव र उत्साह दुवै रहेको भन्दै मतदातालाई पार्टीलाई देशको नेतृत्वको अवसर दिन आग्रह गरे। उनले थपे, ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षभित्र गर्ने कामको विस्तृत ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ। त्यसलाई कार्यान्वयन गर्ने अधिकार मतदाताको हातमा छ।’
कांग्रेसले युवासँगको संवाद र सहभागितालाई सशक्त बनाउँदै आगामी निर्वाचनमा मधेशमा आफ्नो आधार मजबुत पार्ने लक्ष्य राखेको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया