काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले २०६२/६३ को राजनीतिक परिवर्तनपछि संविधानमा ‘धर्म निरपेक्ष’ शब्द जबरजस्ती समावेश गरिएको दाबी गरेका छन्। वैदिक सनातन धर्मसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले त्यसपछिको निर्णयमार्फत नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको बताए।
लिङ्देनले उक्त निर्णयले नेपाललाई हिन्दु राष्ट्रको पहिचानबाट वञ्चित गरेको जिकिर गरे। पछिल्लो समय देशमा हिन्दुत्वप्रति आकर्षण र जागरण बढ्दै गएको उल्लेख गर्दै उनले धर्मको विषय आफूले राजनीतिक लाभका लागि नभई राष्ट्रिय पहिचान र एकताको सवालका रूपमा उठाउँदै आएको स्पष्ट पारे।
उनले भने, ‘६२/६३ पछि देशलाई अकारण धर्म निरपेक्ष घोषणा गरियो। त्यतिबेला हिन्दु राष्ट्रको पक्षमा बोल्नु जोखिमपूर्ण थियो। तर यो कुनै जात विशेषको मुद्दा होइन, नेपालको पहिचान र एकतासँग जोडिएको विषय हो।’
धर्म निरपेक्षता र हिन्दु राष्ट्रबीच स्पष्ट बहस आवश्यक रहेको बताउँदै अध्यक्ष लिङ्देनले समुदाय नै डराउने हो भने यस विषयमा कसले आवाज उठाउने भन्ने प्रश्न समेत गरेका छन्।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया