काठमाडौं । पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।
आइतबार राति मलंगवा नगरपालिका–१०, सर्लाहीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै मृत घोषणा गरेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साह का अनुसार यादवको छातीमा गोली लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
सिराहा निवासी यादव कार्यालय नजिकै मलंगवा–१० मा डेरा गरी बस्दै आएका थिए। उनका अनुसार, घरमा कोठामै रहेका बेला कसैले बाहिर बोलाए र घरको गेट बाहिर पुगेको बित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटना पछि आक्रमणकारी फरार भएका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया