रुकुम पूर्व। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई चीनको सीमासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन्।

पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीन सीमासम्म विस्तार गरी कालोपत्रे गर्ने योजना सुनाए। उक्त सडक निर्माणपछि मैकोटलगायतका क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।

advertisement

प्रचण्डका अनुसार सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरूको सम्झनामा ‘शहीद मार्ग’को अवधारणा अघि सारिएको हो। ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो शहीद मार्ग। जनयुद्धकै बेलामा शहीदहरूको नाममा दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गरेका थियौं। पार्टीले निर्णय गर्‍यो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभयो,’ उनले भने।

उनले शान्ति सम्झौतापछि आफूहरू सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यकै परियोजनाका रूपमा रूपान्तरण गरिएको बताए। ‘पहिले यो हाम्रो एक्लैको जस्तो थियो, अहिले राज्यको भएको छ। त्यसअनुसार काम भइरहेको छ। अब यसलाई पिच गरेर मैकोटलगायत ठाउँमा सहज आवतजावत हुने बनाउने र क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो सपना छ,’ उनले थपे।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव अघि सारेको र त्यसका लागि बजेटसमेत विनियोजन गरिएको दाबी गरे।

प्रचण्डको टोली गाउँपालिकाको केन्द्र तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ र हुकाम हुँदै मैकोट पुगेको छ। टोली सोमबार कोल, गोलखाडा, राङ्सी, नाखाँ र जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com