काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणको प्रक्रियामा अघि बढिसकेको दाबी गर्दै अब देशको आसन, भाषण र शासनशैलीमा गुणात्मक सुधार ल्याइने बताएका छन्।

सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले सत्तामा लामो समयसम्म एउटै व्यक्ति टिकिरहने परम्परा अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार अब प्रधानमन्त्री र मुख्यमन्त्री पदमा कोही पनि दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्न कांग्रेस प्रतिबद्ध छ।

advertisement

चुनावी प्रतिस्पर्धा स्वस्थ र सभ्य हुनुपर्ने उल्लेख गर्दै शर्माले गाली–गलौजभन्दा प्रेम र सकारात्मक सन्देशमार्फत जनतासमक्ष जानुपर्ने धारणा राखे। ‘स्वस्थ आलोचना लोकतन्त्रको स्वाभाविक अभ्यास हो, तर अरूलाई होच्याएर राजनीतिलाई स्वच्छ बनाउन सकिँदैन,’ उनले भने।

निर्वाचन जित्ने नाममा अव्यावहारिक र असम्भव आश्वासन बाँड्ने प्रवृत्तिले समाजमा निराशा बढाउने भन्दै उनले घोषणापत्र र भाषणमार्फत जिम्मेवार प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए।

शासन प्रणालीमा आवश्यक सुधारका विषयमा पार्टीले गहिरो अध्ययन गरेको दाबी गर्दै उनले युवा पुस्ताको परिवर्तनमुखी भावनालाई सम्बोधन गर्ने गरी सुधार र परिमार्जनको एजेन्डा अघि सारिने बताए। ‘देशले देखेको छ—कांग्रेस बदलिएको छ। जो आफू बदलिन सक्छ, उसैले देश बदल्न सक्छ,’ उनले भने।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com