काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कांग्रेस समयअनुसार रूपान्तरण हुँदै आएको पार्टी भएकाले कहिल्यै ‘पुरानो’ नहुने बताएका छन्।
नुवाकोटको बेल्कोटगढी नगरपालिका–फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको पक्षमा निरन्तर काम गर्ने शक्ति कांग्रेस मात्रै भएको दाबी गरे।
उनले नयाँ शक्तिको नाममा उदाएका दलप्रति संकेत गर्दै भने, ‘कतिपय नयाँ पार्टीहरू कहाँबाट आउँछन् र कहिले हराउँछन् भन्ने नै स्पष्ट हुँदैन। सामाजिक सञ्जालमा देखिँदैमा जनताको विश्वास जितिँदैन।’डा. महतले आफू अर्थमन्त्री रहेका बेला नुवाकोटका लागि उल्लेख्य बजेट विनियोजन गरेको स्मरण गर्दै त्यसकै कारण आलोचना समेत खेप्नुपरेको बताए। ‘नुवाकोटमा धेरै बजेट ल्याएँ भनेर आलोचना भयो, तर त्यो जिल्लाको विकासका लागि थियो,’ उनले भने।
उनले वर्तमान निर्वाचनलाई असाधारण महत्त्वको भन्दै कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। ‘यो सामान्य चुनाव होइन। त्यसैले हामी एकजुट छौं। नुवाकोटका दुवै क्षेत्रमा जित हासिल गर्नेमा विश्वस्त छौं,’ उनले भने।
जनताको दुःख–सुखमा साथ दिने परम्परा कांग्रेससँग मात्रै रहेको दाबी गर्दै उनले मतदातालाई ढुक्क भएर कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया