काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै उक्त विवरण दाङस्थित निर्वाचन कार्यालयमा बुझाइसकेको जानकारी दिएकी हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट लुम्बिनी प्रदेशअन्तर्गत महिलातर्फ उम्मेदवार बनेकी झाँक्री माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएकी थिइन्। उम्मेदवारी अवधिभर कुल २ लाख ३६ हजार रुपैयाँ खर्च भएको उनले सार्वजनिक विवरणमा उल्लेख गरेकी छन्।
खर्च विवरणअनुसार मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, सवारी साधन व्यवस्थापनमा ६० हजार र इन्धनमा १५ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, प्रचार–प्रसार सामग्रीमा ५ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख २० हजार तथा छापा र विद्युतीय माध्यमसहित अन्य प्रचार–प्रसारमा ५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
यसैगरी, कार्यालय सञ्चालनका लागि १५ हजार, प्रतिनिधि परिचालनमा १० हजार र विविध शीर्षकमा ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
निर्वाचन आयोग नेपालको व्यवस्थाअनुसार प्रत्येक निर्वाचनमा उम्मेदवारहरूले आफ्नो खर्च विवरण आयोगमा अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया