काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति चितवन ले भोलि (फागुन ५ गते) नेपाल बन्दको आह्वान गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम सफल पार्न सम्पूर्ण जनसमुदायसँग सहयोग र समर्थनको अपिल गरेको जनाएको छ।
जारी विज्ञप्तिमा देश गम्भीर संकटको अवस्थाबाट गुज्रिरहेको दाबी गर्दै वैदेशिक हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि खतरा उत्पन्न भएको उल्लेख गरिएको छ। वर्तमान सरकार साम्राज्यवादी योजनाअनुसार अघि बढिरहेको आरोप पनि पार्टीले लगाएको छ।
पार्टीले कथित निर्वाचन तयारीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वाधीनताको रक्षा र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना आजको आवश्यकता भएको उल्लेख गरेको छ। सोही उद्देश्य पूरा गर्न बन्दको कार्यक्रम घोषणा गरिएको जनाइएको छ।
बन्द सफल पार्न यातायात व्यवसायी, उद्योगी–व्यवसायी, शैक्षिक संस्था, सञ्चारकर्मी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकलाई सहयोग गर्न आग्रह गरिएको छ। पार्टीले सबै पक्षबाट एकताबद्ध समर्थनको अपेक्षा समेत व्यक्त गरेको छ।


प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया