काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक र सरोकारवालालाई आह्वान गरेका छन्।

ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गरे। उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफल बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

advertisement

राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वहरूले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा राखे। मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनले उल्लेख गरे।

उनले सुशासनमार्फत समृद्धि हासिल गर्न सके मात्रै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ बलियो हुने बताए। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको उल्लेख गर्दै उनले शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेको बताए।

राष्ट्रपति पौडेलले शताब्दीयौँदेखि हिमाली क्षेत्रबाट फैलिएको शेर्पा समुदाय विश्वभर फैलिँदै आफ्नो मात्र नभई समग्र नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे। ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइँदैछ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com