काठमाडौं । मेडिकल व्यवसायी र “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उक्त अनुमति दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्दै आएको छ। जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति उल्लंघन र अफवाह फैलाउने कसुरमा समेत अनुसन्धान गर्न प्रशासनले म्याद दिएको हो।
प्रसाईंले सरकारसँगको सम्झौता पूरा नभए अनिश्चितकालीन बन्द र निर्वाचन रोक्ने चेतावनी दिँदै आएका थिए। यसअघि उनी माघ २३ मा पनि पक्राउ परेका थिए र हाजिर जमानीमा छोडिएका थिए। त्यस समयमा पनि निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई प्रहरीले साइबर ब्यूरो मार्फत आधार बनाएर बयान लिएको थियो।
त्यसअघि माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंलाई छुटाइएको थियो। प्रहरीले उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया