काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि खटिन आएका निर्वाचन प्रहरीहरूले सेवा सुविधा कम भएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार, निर्वाचन प्रहरीले तोकेको कार्यविधिअनुसार नभएर सेवा सुविधा कम पाइएजस्तो बुझाइका कारण उनीहरू असन्तुष्ट भएका हुन्। गलत बुझाइले गर्दा उनीहरूले तोडफोड र टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
सूचना अधिकारी चन्दले समस्या समाधानका लागि छलफलमार्फत वार्ता गरिरहेको जानकारी दिएका छन्।
हुम्लामा आगामी निर्वाचनका लागि ५ सय ९५ जना निर्वाचन प्रहरी खटाइएका छन्। प्रारम्भिक तलबअनुसार उनीहरूले प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ। मतदानको दिन अघिपछि गरी ४ दिनका लागि प्रतिदिन ३०० रुपैयाँ दरले १ हजार २०० रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइन्छ।
हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पाउने व्यवस्था अनुसार, हुम्लामा प्रतिप्रहरी करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रशासनले जनाएको छ। पहाडी क्षेत्रमा यो रकम ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ हुन्छ। तर, पहिले भनिएको भन्दा कम रकम पाउने हल्लाले गर्दा प्रहरीहरू असन्तुष्ट बनेका हुन्।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया