काठमाडौं । केपी शर्मा ओली, नेकपा एमालेका अध्यक्ष,ले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्। मंगलबार आफ्नो गृहजिल्ला झापामा मतदातासँग भेटघाटका क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले भने, ‘हाल एमाले दोस्रो पार्टी भए पनि आगामी निर्वाचनपछि पहिलो पार्टी बन्नेमा कुनै शंका छैन। कान खोलेर सुन्नुस्, नेकपा एमाले पहिलो पार्टी हुनेछ। कम्तीमा बहुमत ल्याएर वा ठूलो दल बनेर देशको नेतृत्व गर्नेछौँ।’
उनले जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै यस्ता कार्यमा संलग्न व्यक्तिलाई देशका दुश्मन भने। ‘जसले व्यापारिक भवन जलाए, अरूको घरमा आगो लगाए वा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने कुरा गर्छ, उनीहरू राजनीतिकर्मी होइनन्, आतंककारी र अपराधी हुन्,’ उनले बताए।
ओलीले मुलुकमा अस्थिरता सिर्जना गरी विकासमा अवरोध पुर्याउने तत्वहरू सक्रिय रहेको आरोप लगाए। ‘यीनीहरूले राजनीति गरिरहेका छैनन्, बरु देशमा विध्वंस मच्चाएर अस्थिरता ल्याउन खोजिरहेका छन्,’ उनले भने।
नेपाली जनताको वास्तविक पहिचान शान्तिप्रिय र श्रमजीवी भएको उल्लेख गर्दै उनले लुटपाट, आगजनी र सार्वजनिक सम्पत्ति क्षतिग्रस्त गर्ने प्रवृत्ति नेपाली जातिको हुन सक्दैन भने। ‘नेपाली गरि खाने जाति हो, लुटेर खाने जाति होइन। अरूको सम्पत्ति नष्ट गर्नेहरूले नेपाली हुँ भन्न पनि लाज मान्नुपर्छ,’ अध्यक्ष ओलीले थपे।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया