काठमाडौ । रुपन्देहीको सैनामैनामा चोरीका सुनका गरगहना र स्कुटरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा चोरीमा संलग्न व्यक्तिहरूलाई सुनका विभिन्न गरगहना र स्कुटरसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार, सोमबार राति करिब १ बजे सैनामैना नगरपालिका–४ स्थित कर्बलाको भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा लु ९९ प ७३८८ नम्बरको स्कुटर फेला परेको थियो। स्कुटर भित्र लुकाइराखिएको अवस्थामा सुनका गरगहना पनि भेटिएको थियो।
प्रहरीले स्कुटर सडकमा छोडेर फरार भएका व्यक्तिहरूलाई खोजी गर्दा सैनामैना नगरपालिका–१, बनकट्टाबाट पक्राउ गरेका थिए।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–१ का २३ वर्षीय लोक बहादुर बि.क. र सैनामैना नगरपालिका–१ का ३३ वर्षीय दीपक गाहा (माँगुरे) रहेका छन्।
पक्राउ परेका स्कुटरभित्र एक–एक थान सुनको बाला, हार, मिनी हार, सिक्री, मसिना बाला र तीन थान कानको झुम्का भेटिएको छ। साथै, दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय रन्यौरामा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले ती गरगहना कहाँबाट र कसको घरबाट चोरी गरिएको हो भन्नेबारे पनि विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया