काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन, भ्रष्टाचार र बेथितिको अन्त्य आगामी निर्वाचनबाट हुने बताएका छन्।

धनगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले अब केवल भोट दिने होइन, नेतासँग पाँच वर्षे ‘कन्ट्र्याक्ट’ गर्ने नयाँ राजनीतिक संस्कार सुरु भएको दाबी गरे। उनका अनुसार जनताका अधिकार र क्षेत्रीय मुद्दालाई वर्षौंदेखि चुनावी एजेन्डा बनाएर अल्झाउने प्रवृत्ति अब अन्त्य हुनुपर्छ।

advertisement

लामिछानेले कुशासन, बेरोजगारी र अशिक्षाजस्ता समस्यालाई एकैपटक समाधान गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनलाई “इतिहास लेख्ने अवसर” का रूपमा चित्रण गरे। उनले जनताको मागलाई घोषणापत्रमा मात्र सीमित नराखी कार्यान्वयन गर्ने उद्देश्यले रास्वपाले पहिलोपटक जनतासँग लिखित प्रतिबद्धता गरेको उल्लेख गरे।

उनले वाचा पूरा नगर्ने नेताले नै राजनीतिक सजाय भोग्नुपर्ने धारणा राख्दै स्थायी र पाँच वर्षे सरकार आवश्यक रहेको बताए। उनका अनुसार बारम्बार सरकार परिवर्तन हुँदा जनताले मात्र दुःख पाएको अवस्था अब दोहोरिन नहुने उनले स्पष्ट पारे।

भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीलाई समेत सम्बोधन गर्दै उनले छुट्टी मिलाएर भए पनि मतदानमा सहभागी हुन आग्रह गरे। सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत परिवर्तन गर्न आफूहरू मैदानमा आएको उनको भनाइ थियो।

पुराना राजनीतिक दलहरूले भ्रम फैलाएको आरोप लगाउँदै उनले विगतका दशकहरूमा जनताको सपना कसले ध्वस्त बनायो भन्ने प्रश्न उठाए।

भ्रष्टाचार र बेथितिको अन्त्यका लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ पार्टीको ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न उनले मतदातासँग अपिल गरे।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com