जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले अब कुनै पनि नागरिकले झुटा मुद्दाको सिकार बन्नु नपर्ने व्यवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार जनकपुरमा आयोजित नेपाली कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस सरकारमा आएपछि निर्दोष नागरिकले झुटो अभियोग खेप्नुपर्ने अवस्था अन्त्य गरिने बताए।
‘अब कसैले पनि झुटा मुद्दा झेल्नुपर्ने छैन। फाइल बोकेर काठमाडौंका अदालत धाउनुपर्ने बाध्यता हटाइनेछ, यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने।
थापाले किसानले समयमै मलखाद नपाउने चिन्ताबाट मुक्त हुने व्यवस्था गरिने उल्लेख गर्दै युवाले सवारी चालक अनुमतिपत्र बनाउन जाँदा घुस दिनुपर्ने प्रथा अन्त्य गर्ने बताए।
साथै, सरकारमा पुगेपछि मन्त्रीहरूबाट हुने भ्रष्टाचार रोक्न कडा संयन्त्र लागू गरिने उनको भनाइ थियो। ‘यो केवल भाषण होइन,’ उनले भने, ‘कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट योजना र उपायसहित हामी अघि बढेका छौँ।’
उनले कांग्रेसले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रणाली सुनिश्चित गर्ने लक्ष्यसहित जनतामाझ प्रतिबद्धता व्यक्त गरेको बताए।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया