काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार दिएको राजीनामा पत्रमा पार्टीभित्र संरचनागत विकृति बढ्दै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता देखिएको उल्लेख गरेका छन्। नेतृत्व तहमा नैतिक विचलन देखा परेको भन्दै उनले यस्तो परिस्थितिमा आफू निरन्तर रहन नसक्ने निष्कर्षमा पुगेको जनाएका छन्।
उम्मेदवार छनोट प्रक्रिया पार्टीको विधान, स्थापित मापदण्ड र आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत सञ्चालन गरिएको आरोप उनले लगाएका छन्। लामो समयदेखि पार्टीमा सक्रिय र समर्पित कार्यकर्तालाई उपेक्षा गर्दै अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको उनको दाबी छ।
हुमागाईँले प्रतिनिधि सभा निर्वाचनका क्रममा अनुभव र क्षमता भन्दा बाह्य प्रचारमुखी छवि भएका व्यक्तिलाई प्राथमिकताका आधारमा उम्मेदवार बनाइएको आरोपसमेत लगाएका छन्। पार्टीको संगठन विस्तार भए पनि यसको प्रक्रिया, मापदण्ड र औचित्यमा पारदर्शिता नदेखिएको उनले बताएका छन्।
राजीनामा पत्रमा उनले पार्टीको निर्णय प्रक्रिया विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित बन्दै गएको उल्लेख गरेका छन्। सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्कबाट ठूलो रकम सङ्कलन गरिए पनि त्यसको स्पष्ट लेखाजोखा सार्वजनिक नगरिएको, साथै प्रदेश तथा पालिका तहमा वितरण हुने भनिएको रकमबारे पनि पारदर्शिता अभाव रहेको उनको आरोप छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया