काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी त्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाउँदै नेतृत्व छनोट प्रक्रिया नीतिभन्दा ‘आशीर्वाद’मा आधारित हुन थालेको दाबी गरेका छन्। यस्तो प्रवृत्तिले संगठनको मूल मर्म कमजोर बनाएको उल्लेख गर्दै उनले पार्टीमा बसिरहनुको औचित्य समाप्त भएको बताएका छन्।
उनका अनुसार संगठन निर्माणमा निरन्तर खटिएका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढ्दो छ र पार्टी क्रमशः अलोकतान्त्रिक दिशातर्फ उन्मुख भइरहेको छ। ‘रातदिन खटिएका कार्यकर्तालाई ओझेलमा पार्ने र तात्कालिक सक्रियतालाई प्राथमिकता दिने अवस्था सिर्जना भएको छ,’ उनले लेखेका छन्।
थापा २०७९ सालको आमनिर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए। उनी सोही निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार बनेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिन्छन्।
उनको बहिर्गमनलाई नुवाकोटको स्थानीय राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया