काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव जित्ने सम्भावना नभएको निष्कर्ष निकालेको दाबी गर्दै त्यसको आधारमा अराजक गतिविधि सुरु गरेको आरोप लगाएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारलाई अभद्र, अमर्यादित र अशोभनीय खालका भएको बताए। उनले भने, ‘मलाई लाग्छ रास्वपाले चुनाव जित्ने सम्भावना नहुने निष्कर्ष निकालेको छ। त्यसैले कतै झण्डा जलाउने, तनाव बढाउने र अन्य अशोभनीय गतिविधि देखाउन थालेको छ।’

advertisement

ओलीले रास्वपा चुनाव भाँड्ने प्रवृत्तिमा रहेको अनुमान व्यक्त गर्दै भने, ‘यदि उनीहरूको पक्षमा नतिजा आउँछ भने चुनावमा सहभागी हुने, नतिजा नआए चुनाव लड्न नदिने जस्ता प्रवृत्ति देखिन्छ। केही दिनयता देखिएका घटनाक्रमले यही संकेत दिइरहेको छ।’

अध्यक्ष ओलीले भने, चुनाव बलजफ्तीको माध्यमबाट हुन नहुने स्पष्ट पार्दै मतदाताले निर्भय र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउनुपर्नेमा जोड दिएका छन्। ‘निर्वाचन बलजफ्तीको विषय होइन। नियम र कानुनअनुसार स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हुनु आवश्यक छ। मतदानको सम्पूर्ण प्रक्रिया—गणना र परिणाम घोषणा सम्म—पूर्ण पारदर्शी हुनुपर्छ,’ उनले भने।

ओलीले थपे, ‘मतदाताले शान्तिपूर्ण वातावरणमा आफ्नो मत स्वतन्त्र रूपमा दिन पाउनु नै वास्तविक निर्वाचन हो। यही कुरा हाम्रो पार्टीले सदैव उठाउँदै आएको छ।’

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com