काठमाडौं। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले आफू मतदातासँग भोटभन्दा पनि कामको अपेक्षा लिएर अघि बढिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चुनावी प्रतिस्पर्धालाई केवल मत माग्ने प्रक्रियामा सीमित नगरी जनतासँग दीर्घकालीन सम्बन्ध कायम गर्ने उद्देश्य रहेको स्पष्ट पारे। निर्वाचनपछि जनप्रतिनिधि र जनताबीच दूरी बढ्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न चाहेको बताए।
“म दोलखाका जनतासँग उम्मेदवारका रूपमा मत माग्न होइन, काम माग्न आएको हुँ,” उनले भने, “चुनावपछि सम्बन्ध धमिलो नहोस् भन्ने चाहन्छु। दोलखा मेरो घर हो, म त्यस घरको सदस्यका रूपमा उम्मेदवार बनेको छु। आफ्नो घर र पार्टीको सम्मान जोगाउने जिम्मेवारी सबैले लिनुहुनेछ भन्ने विश्वास छ।”
उनले हाल बाहिर चलेका केही नाराप्रति संकेत गर्दै लोकतान्त्रिक अभ्यास कमजोर पार्ने कुनै पनि प्रवृत्तिप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरे। लोकतन्त्रको आधार संवाद र सहकार्य भएको उल्लेख गर्दै उनले ‘संवादमा विश्वास, विकासमा निकास’ भन्ने सोचका साथ आफूहरू अघि बढेको बताए।
दोलखामा अपार सम्भावना भए पनि थुप्रै चुनौती रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्ने दायित्व आफूहरूमा रहेको बताए। स्थानीय स्रोत, पूर्वाधार विकास र जनसहभागितामार्फत दोलखालाई समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया