झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्। उनले यसलाई ‘देश निर्माण गर्ने शक्ति र देश अस्थिर बनाउने प्रवृत्तिबीचको संघर्ष’ भएको टिप्पणी गरे।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सार्वभौमसत्ता, विकास र समृद्धिको एजेन्डा अघि बढाउन एमालेको जित अनिवार्य रहेको दाबी गरे। उनले पार्टीका पुराना सहयात्रीहरू हरिवंश सिवाकोटी र डा. केआर खम्बुलगायत नेताहरूको योगदान स्मरण गर्दै एमाले विगत पाँच–छ दशकदेखि निरन्तर आन्दोलन र संघर्षमा रहेको उल्लेख गरे। देशको भविष्य सुरक्षित राख्ने शक्ति एमाले नै भएको उनको जिकिर थियो।
निर्वाचन अवरुद्ध पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले भने, ‘निर्वाचन बिथोल्ने प्रयत्न भइरहेका छन्, तर हामी विचलित हुँदैनौं। विजयका लागि दृढतापूर्वक अघि बढ्छौं।’ विपक्षीहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित गतिविधि गरेर चुनावी वातावरण बिगार्न खोजेको आरोपसमेत उनले लगाए। झण्डाको अपमान लोकतान्त्रिक प्रक्रियामाथिको आक्रमण भएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको चर्चा गर्दै हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँ पुर्याउने निर्णय, साक्षरता दर वृद्धि तथा ३९६ आधारभूत अस्पतालको शिलान्यासजस्ता कार्यक्रमलाई उपलब्धिका रूपमा प्रस्तुत गरे। दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत सुत्केरी र बिरामीको उद्धार व्यवस्था सुरु गरिएको उल्लेख गर्दै उनले बाल तथा मातृ मृत्युदर घटाउन महत्त्वपूर्ण पहल गरिएको बताए।
आफूमाथि भइरहेका आलोचनाप्रति प्रतिक्रिया दिँदै ओलीले भ्रष्टाचार नगरेको र राष्ट्रिय हितका विषयमा अडान लिएकै कारण आफू निशानामा परेको दाबी गरे। ‘६० वर्षको राजनीतिक यात्रामा मैले भ्रष्टाचार गरेको छैन, गर्ने पनि छैन,’ उनले भने। मिचिएको भूभाग फिर्ता ल्याउने पहल र उत्तरी नाकाहरू सञ्चालनमा ल्याउने प्रयासकै कारण आक्रमणको लक्ष्य बनेको उनको भनाइ थियो।
देशलाई जात, धर्म वा भूगोलका आधारमा विभाजित गर्न खोज्ने शक्तिविरुद्ध आफू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उनले एमाले कसैको कठपुतली नभएको र राष्ट्रको एक इन्च जमिनसमेत तलमाथि हुन नदिने उद्घोष गरे।
अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर–३ का उम्मेदवार हरिबहादुर राजवंशीलाई जिताउन मतदातासँग आग्रह गरे। सूर्य चिन्हको सांस्कृतिक र प्रतीकात्मक महत्त्व उल्लेख गर्दै उनले ‘सूर्य उज्यालो र ऊर्जा दिने प्रतीक हो’ भन्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरे।
कार्यक्रममा एमाले प्रवेश गरेका युवालाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकालाई पुनः फर्कन आग्रहसमेत गरे। व्यक्तिगत लाभभन्दा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न गाउँ–गाउँ र घर–घरमा राष्ट्रिय एकताको सन्देश पुर्याउन कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया