काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने व्यक्तिहरू देशको नेतृत्व गर्ने दाबी गर्दै हिँड्नु विडम्बनापूर्ण भएको बताएका छन्।

आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहप्रति संकेत गर्दै स्थानीय निकाय सम्हाल्न असफल भएका व्यक्तिले देश हाँक्ने महत्वाकांक्षा राख्नु उपयुक्त नहुने टिप्पणी गरे।

advertisement

उनले भने, ‘एउटा पालिकासमेत राम्रोसँग सञ्चालन गर्न नसक्ने व्यक्तिलाई देशको बागडोर सुम्पिने कुरा कसरी सम्भव हुन्छ? प्रधानमन्त्री बनाउने कुरा उठ्छ। के यो देश कसैको प्रयोग गर्ने ठाउँ हो? के राष्ट्रलाई प्रयोगशाला बनाइन्छ?’

ओलीले मुलुकमा स्थायित्व र शान्तिपूर्ण वातावरण पुनःस्थापित गर्न तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सबै पक्ष सजग हुनुपर्ने समय आएको उल्लेख गरे।

उनका अनुसार एमाले निर्वाचनमा विजयी हुने तयारीमा केन्द्रित रहेकै बेला चुनाव प्रक्रिया प्रभावित पार्ने प्रयासहरू भइरहेको छ।

‘निर्वाचन अवरुद्ध गर्ने प्रयासहरू देखिएका छन्, तर हामी विचलित हुँदैनौं। हामी स्पष्ट लक्ष्यसहित विजयको तयारीमा निरन्तर लागिरहन्छौं,’ उनले भने।

त्यस्तै, विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित गतिविधिमार्फत चुनावी वातावरण विगार्न खोजेको आरोप पनि उनले लगाए। झण्डाको अपमान गर्नु लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाविरुद्धको गम्भीर अपराध भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com