काठमाडौ । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जना महिला र ६ जना पुरुष रहेका छन्। प्रहरीका अनुसार सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये दुई जना विदेशी नागरिकसमेत रहेको पुष्टि गरिएको छ।
पोखराबाट काठमाडौंका लागि छुटेको ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस गएराति करिब साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो।
सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कुल ४५ जना यात्रु सवार थिए। तीमध्ये ४३ जना पोखराबाट र २ जना मुग्लिनबाट चढेका थिए।
दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया