काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं सही कुराका लागि मात्रै अडिग रहने बताएका छन्। किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको उल्लेख गर्दै उनले पञ्चायत र राजतन्त्र अन्त्य गर्ने संकल्पसहित आफू आन्दोलनमा होमिएको बताएका हुन्।

पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पञ्चायत फाल्ने अठोट लिएपछि जेल, हत्कडी, यातना र विभिन्न कष्टहरू भोग्नुपरे पनि लक्ष्यबाट पछि नहटेको स्मरण गरे। उनले संकल्प पूरा नभएसम्म निरन्तर संघर्ष जारी राखेको बताए।

advertisement

ओलीले नेकपा एमालेलाई देशको प्रमुख शक्ति बनाउने लक्ष्य राखेर अघि बढेको र त्यसलाई पूरा गर्न सफल भएको दाबी गरे। नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरिए पनि त्यसलाई सहन नसक्ने शक्तिहरूले पार्टी फुटाएको उनको गुनासो छ।

आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने तर सही काम र सही विचारका लागि भने दृढ रहने बताए।

संघर्षशील जीवन सहज र रमाइलो नहुने उल्लेख गर्दै उनले सही उद्देश्यका लागि गरिएको संघर्षको अन्त्य भने सुखद् हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com