काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदका प्रस्तावित उम्मेदवारहरूसँग बहस गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
नेपाल प्रेस युनियन झापाले धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको प्रस्तावित दुई नेता केपी शर्मा ओली र बालेन शाह झापामै रहेकाले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई पनि दमक पठाउन पार्टी तयार रहेको बताए।
शर्माले प्रधानमन्त्रीमा प्रस्तावित दुवै नेतासँग समय मिलाएर जुन दिन र जुन समय उपयुक्त हुन्छ, त्यही समयमा झापा र राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिमा प्रत्यक्ष प्रसारणसहित खुला छलफल गर्न तयार रहेको स्पष्ट पारे। उनले आफू पार्टीको परिचालन समितिको संयोजकको हैसियतले औपचारिक रूपमा बहसको प्रस्ताव राखेको बताए।
उनले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान बनाउन नहुने धारणा व्यक्त गर्दै मतदाताले मतदान गर्दा रिस वा झोकमा नभई विवेकपूर्ण ढंगले मत दिनुपर्ने बताए।
विश्वप्रकाश शर्माले स्वस्थ बहस र विचारको प्रतिस्पर्धाले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया