काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमा फर्किएका छन्। उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएका छन्।
उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसी लगायतका पुराना नेताहरूको उपस्थिती थियो।
पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए। उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्ताले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए।
‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने। उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए। ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनले जोड दिए।
चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी) मा सक्रिय थिए। पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमा फर्किने निर्णय गरेका हुन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया