ललितपुर । टिकटकबाट चर्चामा आएकी तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार जारी गरेको सूचनामा तुल्सीविरूद्ध ठगी तथा आपराधिक लाभसँग सम्बन्धित मुद्दासँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार, साउन २२ गते कुमार चिमोरियाले तुल्सीविरूद्ध ठगी र आपराधिक लाभको कसुरमा जाहेरी दिएका थिए र सोही आधारमा अनुसन्धान जारी छ। त्यस्तै, गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार गरेको थियो।
विभागमा गत फागुन १९ गते तुल्सीविरुद्ध उजुरी दर्ता भएको थियो। अनुसन्धानको क्रममा आवश्यक आधार र प्रमाणहरू संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
हाल तुल्सी अधिकारी विदेशमा रहेको र सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेकाले प्रहरीको ध्यानाकर्षण भएको बताइएको छ। ललितपुर प्रहरीले उनलाई अनुसन्धानको क्रममा कार्यालयमा उपस्थित भएर बयान दिन अनुरोध गरेको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया