काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमा मुद्दाको फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले सुनुवाइका क्रममा महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल मगाउने आदेश जारी गरेको हो।
प्रसाईंका तर्फबाट दायर रिट निवेदनमाथि भएको बहसका क्रममा जिल्ला प्रहरी परिसरले पेस गरेको लिखित जवाफका आधारमा अदालतले थप अध्ययनका लागि फाइल झिकाउन आवश्यक ठानेको हो।
यसअघि माघ २३ गते पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार मानेर बयान लिएपछि छाडेको थियो।
प्रहरीले फागुन २१ गते हुने भनिएको निर्वाचन विथोल्ने अभियान सञ्चालन गर्न लागेको आशंकामा प्रसाईंलाई विभिन्न समयमा पक्राउ गर्दै आएको छ। माघ ५ गते पनि उनलाई पोखराबाट नियन्त्रणमा लिएर बयानपछि रिहा गरिएको थियो।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया