झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार खुश्बु ओलीले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्वको असक्षमताका कारण देश गम्भीर संकटमा परेको बताएकी छन्।

सोमबार झापाको वैगुन्धरा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्थायित्व र विकासका लागि राजसंस्था तथा हिन्दु राष्ट्र पुनर्स्थापना आवश्यक रहेको दाबी गरिन्।

advertisement

सभास्थलमा राखिएको च्यातिएको राष्ट्रिय झन्डातर्फ संकेत गर्दै उनले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिन्। ‘यो च्यातिएको झन्डा आजको नेपालको प्रतीक हो। हाम्रो स्वाभिमान र प्रतिष्ठा कमजोर बनेको छ। अब देशलाई सही दिशामा लैजाने जिम्मेवारी जनताको काँधमा आएको छ,’ उनले भनिन्।

गणतन्त्रप्रति कडा टिप्पणी गर्दै ओलीले यो व्यवस्थाले देशलाई अत्यधिक ऋणको भारमा डुबाएको आरोप लगाइन्। उनका अनुसार गणतन्त्रपछि मुलुकको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघिसकेको छ। ‘हिजो सानो खर्चको विषयमा विरोध गर्नेहरू आज राज्य स्रोतको दुरुपयोगमा संलग्न छन्,’ उनले आरोप लगाइन्।

उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय प्रतिष्ठा कमजोर बन्दै गएको र रोजगारी अभावका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गरिन्। उद्योगधन्दा बन्द हुँदै जानु र श्रम निर्यातमै अर्थतन्त्र निर्भर रहनु दुःखद भएको उनको भनाइ थियो।

धर्मान्तरण तथा सांस्कृतिक हस्तक्षेपको विषय उठाउँदै उनले हिन्दु राष्ट्रको मुद्दा राप्रपाको प्रमुख एजेन्डा भएको स्पष्ट पारिन्। देशको परम्परा, संस्कृति र धार्मिक पहिचान जोगाउन कुनै सम्झौता नगर्ने उनले बताइन्।

झापाका स्थानीय समस्याबारे बोल्दै ओलीले विशेष गरी ऐलानी जग्गा व्यवस्थापनमा ठूला दलहरू असफल भएको आरोप लगाइन्। वर्षौँदेखि स्थानीय बासिन्दालाई समाधानको आश्वासन दिए पनि ठोस पहल नभएको भन्दै उनले परिवर्तनका लागि मतदातासँग समर्थन मागिन्।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com