काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताएका छन् ।
एमाले निकट मुक्ति समाज दोलखाका नेता–कार्यकर्तालाई पार्टीमा भित्र्याउने क्रममा उनले २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरिएको स्मरण गरे । उक्त एकता टिकाउन नसकिएको स्वीकार गर्दै उनले उद्देश्य भने सही रहेको दाबी गरे ।
“नेपालका वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने हाम्रो भावना जायज थियो । तर नेतृत्वको गलत सोच र कार्यशैलीका कारण त्यो एकता जोगिन सकेन,” उनले भने ।
प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूबीच पुनः एकताको आवश्यकता बढाएको उल्लेख गरे । एमालेका पूर्वमन्त्री र सांसदहरू समेत आफ्नो पार्टीमा प्रवेश गरिरहेको दाबी गर्दै उनले निकट भविष्यमा वाम ध्रुवीकरण अझ सशक्त हुने बताए ।
उनले केपी शर्मा ओली को कार्यशैलीका कारण एमालेभित्र असन्तुष्टि बढेको आरोप लगाए । आगामी निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टीको भूमिका निर्णायक हुने र आफूहरूको पार्टी प्रमुख प्रतिस्पर्धीका रूपमा उदाउने दाबी समेत उनले गरे ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया