काठमाडौं । गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ एक युवती मृतावस्थामा फेला परेकी छन्।
मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो। स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रारम्भिक जानकारी अनुसार सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ। उनी हाल एक्लै बस्दै आएकी थिइन्। गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा आएकी थिइन्।
घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया