काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मत सर्वेक्षणको नाममा जनमत प्रभावित पार्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ।

पार्टीको प्रचार विभागले पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको अवस्थामा ‘मत सर्वेक्षण’का नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको टिप्पणी गरेको हो।

advertisement

एमालेले सार्वजनिक खपतका लागि प्रस्तुत गरिने यस्ता प्रायोजित र एकपक्षीय तथ्याङ्कले मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने तथा जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम रहेको निष्कर्ष निकालेको छ। जारी वक्तव्यमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमनमा कमजोरी देखिएको तथा स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता प्रभावित भएको उल्लेख गरिएको छ। निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता र उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरिएको छ।

त्यस्तै, एआई प्रविधि प्रयोग गरी तयार गरिएका ‘डिपफेक’ भिडियो, भ्रामक अडियो तथा बनावटी समाचार सामग्री प्रसारण गरेर मतदातालाई भ्रमित गर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूको छवि धूमिल पार्ने प्रयास निन्दनीय भएको एमालेको ठहर छ। यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रिया, सार्वजनिक विश्वास र सामाजिक एकतालाई कमजोर बनाउने जनाएको छ।

एमालेले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र विवेकपूर्ण प्रयोग गर्न आह्वान गर्दै सत्य र तथ्यमा आधारित स्वस्थ प्रतिस्पर्धा नै लोकतन्त्रको आधार भएको उल्लेख गरेको छ। साथै, सम्बन्धित नियामक निकायलाई आवश्यक निगरानी र कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।

आचारसंहिताविपरीत भौतिक सामग्री वितरण तथा चाडपर्वको अवसर पारेर दल विशेषका नेताको तस्वीर वा नाम अंकित सामग्री वितरणजस्ता गतिविधि रोक्न पनि निर्वाचन आयोगलाई सचेत गराइएको एमालेले जनाएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com