काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाउँदै आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ ।
कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा सभा हुनेछ । यस सभालाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम छ ।
सुर्खेतको सभा सम्पन्न भएपछि आजै बाँके क्षेत्र नम्बर ३ अन्तर्गत जानकी गाउँपालिका–३, मानपुरमा पनि चुनावी सभा आयोजना हुँदैछ । बाँके–३ का उम्मेदवार तथा प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १:३० बजे सभा हुने पुष्टि गरेको छ । पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार यस सभालाई पनि सभापति थापाले सम्बोधन गर्ने छन् ।
कांग्रेस प्रवक्ता तथा अन्य स्रोतहरूका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टरमार्फत यी सभाहरूमा सहभागी हुनेछन् । सभाहरूमा सम्बन्धित प्रदेशका प्रतिनिधिसभा उम्मेदवारहरू तथा स्थानीय नेताहरू पनि उपस्थित रहनेछन् ।
यसअघि फागुन ६ गते जनकपुरमा ‘मधेस सभा’ गरी प्रतिवेदन सार्वजनिक गरेको कांग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरेको छ । पार्टीले देशभर निर्वाचन क्षेत्रहरूमा सक्रिय प्रचार अभियान चलाइरहेको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया