काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘बाध्यताको चुनाव’ बताउँदै यो निर्वाचनले संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्त भएको धारणा राखेका छन् ।
सुर्खेतमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा भदौ २३ र २४ गतेका घटनालाई बिर्सन नहुनेमा जोड दिए । उनले भने, “यो चुनाव बाध्यताको चुनाव हो । यो नेपालका लागि संविधानलाई ट्रयाकमा राख्न अनिवार्य सर्त पनि हो । चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको छ । फागुन २१ को चुनावको सन्दर्भमा भदौ २३ र २४ का घटनालाई बिर्सेर हुँदैन ।”
उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान नजाने र नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि हुन नदिने अवस्था सिर्जना गर्नुपर्ने बताए । त्यसका लागि भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
केही शक्तिहरूले ती घटनालाई इन्कार गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै थापाले भने, “भदौ २३ र २४ मा जे भयो त्यसलाई इन्कार गर्ने प्रवृत्ति छ । ती घटनाअघि सबै सामान्य थियो, दुधभात खाएर बसेका थियौं भन्ने तर्क गलत हो । नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ ।”
उनले नेपालको राजनीति फोहोर र प्रदूषित बनेको आरोप लगाउँदै गठबन्धनको राजनीतिले समग्र राजनीतिक वातावरणलाई दूषित बनाएको बताए । “नेपालको राजनीति फोहोर भएको छ । गठबन्धनको राजनीतिले समग्र राजनीतिलाई दूषित बनाएको छ । नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई सफा गर्छौं । यो प्रदूषित राजनीतिलाई सफा गर्छौं,” उनले भने ।
थापाले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि स्वर्णिमकाल बनाउने सपना बोकेर कांग्रेस अघि बढेको बताए । “हामी ८२ देखि ८७ सम्मको पाँच वर्षलाई स्वर्णिमकाल बनाउँछौं भन्ने सपना बोकेर आएका छौं,” उनले सम्बोधनमा उल्लेख गरे ।
सुर्खेतको घण्टाघर डबलीमा आयोजित यो सभामा सभापति थापासँगै उपसभापति पुष्पा भुसाल लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए । कांग्रेसले यो निर्वाचनलाई संविधान र लोकतन्त्र रक्षा गर्ने अवसरका रूपमा प्रस्तुत गर्दै मतदातालाई अपिल गरेको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया