काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई व्यंग्यात्मक जवाफ फर्काएका छन्।
चुनाव सार्ने भए चार दिन अघि सारौं भन्दै लामिछानेले दिएको चुनौतीको जवाफ दिँदै ओलीले चुनाव भोलि नै सारे पनि आफूहरू तयार रहेको बताएका हुन्।
बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा आयोजित मतदाता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले लामिछानेप्रति कटाक्ष गरेका हुन्।
सञ्चारकर्मीले ‘रवि लामिछानेले चुनाव सार्ने नै भए ४ दिन अघि सारौं भन्नुभएको छ नि ?’ भनी सोधेको प्रश्नको जवाफमा ओलीले मुस्कुराउँदै भने, ‘भोलिलाई नै सारौं।’
यसअघि मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले निर्वाचनको मिति सार्ने चलखेल भइरहेको भन्दै आक्रोश पोखेका थिए। उनले चुनाव पछाडि धकेल्ने नभई बरु अगाडि ल्याउन चुनौती दिएका थिए।
लामिछानेले भनेका थिए, ‘चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहान्छु, चुनाव सार्ने भए चार दिन अघि सारौं, हामीलाई ठिक छ।’
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया