काठमाडाैं । तर्कबहादुर शाही एउटै राजनीतिक धारमा पटक–पटक फर्किने नेताका रूपमा चर्चामा आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रहेका शाही पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका हुन् । उनलाई एमाले सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले बुधबार पार्टीमा स्वागत गरेका बताइएको छ ।
शाहीको राजनीतिक यात्रा उतार–चढावपूर्ण रहेको छ । उनी कुनै समय नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मा सक्रिय थिए । त्यसपछि बीचमा नेपाली कांग्रेस हुँदै २०५० को दशकको सुरुवाततिर एमाले प्रवेश गरेका थिए । एमाले विभाजन हुँदा उनी मालेतिर लागे, तर पुनः एमालेमै फर्किए ।
२०७८ सालमा एमाले विभाजन भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा गएका थिए । २०७९ को स्थानीय तह निर्वाचनताका फेरि एमाले प्रवेश गरे । २०८० कात्तिकमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालयमै पुगेर माओवादी प्रवेश गरेका थिए । हाल माओवादी शक्ति पनि नेपाल कम्युनिस्ट पार्टीकै नाममा अस्तित्वमा रहेको छ, जहाँ उनी दैलेखबाट केन्द्रीय सदस्य थिए ।
प्रतिनिधि सभा निर्वाचनमा दैलेख–२ बाट उम्मेदवार बन्ने चाहना राखेका शाहीले पार्टीबाट टिकट नपाएपछि असन्तुष्टि जनाउँदै पुनः एमाले प्रवेश गरेका बताइन्छ । दैलेखी कम्युनिस्ट आन्दोलनका एक पुराना कार्यकर्ताका रूपमा चिनिने शाहीले यसअघिका पार्टी प्रवेशहरूमा आफ्नी श्रीमती सुस्मिता सिंहलाई पनि सँगै सहभागी गराउने गरेका छन् ।
सिंह २०७४ सालमा एमालेबाट ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एमाले दैलेखका नेताहरूका अनुसार शाही चौथो पटक एमाले फर्किएका हुन् र अब भने स्थिर रहने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया