काठमाडौं । पाकिस्तान र अफगानिस्तान बीच सैन्य तनाव तीव्र बनेको छ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ ले अफगान तालिबानविरुद्ध ‘खुला युद्ध’को घोषणा गर्दै पाकिस्तानको धैर्य समाप्त भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा उनले अफगान तालिबानमाथि ‘विश्वभरका आतंककारीलाई अफगानिस्तानमा जम्मा गरेको’ तथा ‘आतंकवाद निर्यात गरेको’ आरोप लगाएका छन्। साथै, तालिबान सरकारले आफ्ना नागरिकलाई आधारभूत मानवअधिकार तथा इस्लामले महिलालाई दिएका अधिकारसमेतबाट वञ्चित गरेको दाबी गरेका छन्।

advertisement

उता, अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिद ले पाकिस्तानले राजधानी काबुल, पक्तिका र कन्धार का केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्। तर ती हमलामा मानवीय क्षति नभएको उनको दाबी छ।

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरार ले भने काबुल, पक्तिका र कन्धारस्थित तालिबानका रक्षा संरचनालाई लक्षित गरी कारबाही गरिएको बताएका छन्। उनका अनुसार सैन्य अपरेसनमा तालिबानका दुई कोर मुख्यालय, दुई हतियार भण्डार, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय तथा ८० भन्दा बढी ट्यांक ध्वस्त पारिएको दाबी गरिएको छ।

पाकिस्तानी पक्षले हालसम्मका कारबाहीमा तालिबानका १३३ सदस्य मारिएको र २०० जना घाइते भएको दाबी गरेको छ। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोप र सैन्य गतिविधिका कारण सीमा क्षेत्रमा तनाव उच्च बनेको छ। पछिल्लो घटनाक्रमले पाकिस्तान र अफगान तालिबानबीच खुला सैन्य द्वन्द्वतर्फ अवस्था उन्मुख भएको संकेत गरेको छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com