बुटवल । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कुनै एक व्यक्तिले चमत्कारिक रूपमा देश परिवर्तन गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसद्वारा बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक व्यवस्थामा कसैलाई ‘देउता’ वा ‘राक्षस’का रूपमा चित्रण गर्ने प्रवृत्ति राष्ट्रका लागि घातक हुने टिप्पणी गरे। उनले भने, ‘लोकतन्त्रमा कुनै पनि व्यक्ति रातारात देउता वा राक्षस हुँदैन। देश बनाउने काम टिमले गर्छ, र नेपाली कांग्रेस स्पष्ट दृष्टि र सक्षम टिमसहित मैदानमा उत्रिएको छ।’
प्रधानमन्त्री मात्र होइन, कुनै एक दलले एक्लै देश निर्माण गर्न नसक्ने स्पष्ट पार्दै उनले प्रणाली सुधारका लागि आवश्यक परे संविधान संशोधनसम्म गर्नुपर्ने उल्लेख गरे। त्यसका लागि व्यापक सहमति र सहकार्य अनिवार्य हुने उनको धारणा थियो। ‘म मात्रै गर्छु, म मात्र सही हुँ, अरू सबै गलत छन् भन्ने सोचले देशलाई फेरि गम्भीर दुर्घटनातर्फ लैजान सक्छ,’ उनले चेतावनी दिए।
थापाले मुलुकलाई सही गन्तव्यमा पुर्याउन केवल ‘स्पिड’ होइन, सकारात्मक ‘स्पिरिट’ पनि आवश्यक पर्ने बताए। सुझबुझ र सहकार्यका साथ सबैलाई एउटै यात्रामा जोडेर देशलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे। आगामी पाँच वर्ष नेपाली कांग्रेसको नेतृत्वमा देशले नयाँ गति लिने दाबीसमेत उनले गरे।
लुम्बिनी प्रदेशको सन्दर्भ उठाउँदै थापाले बुटवललाई केन्द्रमा राखेर आसपासका जिल्लाहरूको सन्तुलित र दिगो विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। बुटवलमा उल्लेखनीय पूर्वाधार विकास भए पनि जनशक्ति टिकाइराख्ने खालका दीर्घकालीन योजना अभाव रहेको उनले बताए।
सामाजिक सञ्जाल र मोबाइल प्रविधिबाट फैलिने भ्रमप्रति सचेत रहन आग्रह गर्दै उनले आवेग र उत्तेजनामा आधारित राजनीतिबाट टाढा रहन नागरिकलाई अपिल गरे।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया