काठमाडौं । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न मुख्य योजनाकार लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतो रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत फागुन ३ गते साँझ गोली प्रहार गरी यादवको हत्या गरिएको थियो।

मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवको हत्या पूर्वयोजनाअनुसार गरिएको निष्कर्षमा प्रहरी पुगेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सरोज राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको एउटै प्रतिस्पर्धामा सहभागी थिए। वैकल्पिक सूचीको पहिलो नम्बरमा रहेका महतोले यादवलाई हटाएर आफू नियुक्ति हुने उद्देश्यले हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

advertisement

एसपी राईले भने, ‘आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्। उनकै योजनामा सब–इन्जिनियर यादवको हत्या भएको देखिन्छ।’

प्रहरीले घटनामा संलग्न आरोपमा गणेश महतोसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूमाथि अदालतबाट १५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com