काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका सम्भावित प्रधानमन्त्री उम्मेदवारहरूबीच सार्वजनिक बहस आयोजना गर्न प्रस्ताव गरेको छ।
पार्टीले फागुन १८ गते पर्ने होलीको अवसरमा काठमाडौँको खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारहरूलाई एउटै मञ्चमा ल्याएर खुला बहस गर्न आह्वान गरेको हो।
शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव राखेका हुन्। उनले निर्वाचनपछि संसद्को पाँच वर्षे कार्यकालमा देशका लागि के–कस्ता काम गर्ने भन्ने एजेन्डामा उम्मेदवारहरूबीच खुला छलफल हुनुपर्ने बताए।
उनले भने, “फागुन १८ गते होलीको दिन हो। त्यो दिन प्रधानमन्त्रीका उम्मेदवारहरू खुलामञ्चमा आएर सार्वजनिक बहस गरौँ। सँगै होली खेलौँ र देशका लागि आगामी पाँच वर्षमा गर्ने कामबारे खुला रूपमा जनतासामु राखौँ।”
उपसभापति शर्माले अन्य राजनीतिक दलहरूलाई पनि उक्त प्रस्तावमा सहमति जनाउन आग्रह गर्दै यो नेपाली कांग्रेसको औपचारिक प्रस्ताव भएको बताए।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया