सर्लाही। सर्लाही जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको घटनामा स्थायी नियुक्तिको अवसर हासिल गर्ने लोभमा योजनाबद्ध हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मुख्य योजनाकार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

advertisement

सिरहा सुखीपुर नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल सर्लाही मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७:५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाएको थियो । बाहिर निस्किएलगत्तै छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पोस्टमार्टम प्रतिवेदनअनुसार छातीमा लागेको गोली नै मृत्युको कारण रहेको छ ।

सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, इन्टेलिजेन्स परिचालन तथा मृतकका परिवार, नातेदार र सहकर्मीहरूसँगको सोधपुछबाट घटनाको योजनाकार महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३४ वर्षीय गणेश कुमार महतो रहेको खुलेको छ । उनी सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।

मधेश प्रदेश लोकसेवा आयोगबाट सहायक पाँचौँ तह सव–इन्जिनियर पदमा मुख्य सिफारिस भएका यादव थिए भने महतो एक मात्र वैकल्पिक उम्मेदवार थिए । नियुक्ति भएको व्यक्ति एक वर्षभित्र पद रिक्त भएमा मात्र वैकल्पिक उम्मेदवारलाई अवसर प्राप्त हुने कानुनी व्यवस्थाको गलत बुझाइका आधारमा महतोले हत्या योजना बनाएको प्रहरीको दाबी छ । यसअघि पनि पटक–पटक वैकल्पिक उम्मेदवार बने पनि नियुक्ति नपाएपछि उनी असन्तुष्ट थिए ।

महतोले आफूलाई ‘राकेश यादव’ नामबाट चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए । कामको सिलसिलामा फोन सम्पर्क गर्ने क्रममा वास्तविक परिचय लुकाएका थिए । मृतकको ह्वाट्सएपमा उनको नम्बर ‘राकेश यादव’ नाममै सेभ थियो । घटनाको दिन पनि ह्वाट्सएप कल गरेर यादवलाई डेराबाहिर बोलाएका थिए । बाहिर निस्किएलगत्तै साथमा ल्याएको पेस्तोलबाट छातीमा गोली प्रहार गरी फरार भएका थिए ।

घटनामा बसबरीया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा (महतोका साला नाता पर्ने) पनि संलग्न रहेको खुलेको छ । दुवै जना भारतीय नम्बर प्लेट बिआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकलमा बरहथवाबाट मलंगवा पुगेका थिए । गोली प्रहारपछि सोही मोटरसाइकलमा भागेर रौतहट गढीमाई नगरपालिका–५ बलुवास्थित बागमती नदीको बाँधछेउ मोटरसाइकल छाडेर फरार भएका थिए । मोटरसाइकल भोलिपल्ट बेवारिसे अवस्थामा फेला परेको थियो ।

महतोका भाइ २२ वर्षीय विजय कुमार महतोको पनि संलग्नता खुलेको छ । दशैंअघि नै गणेशले विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका थिए । विजयले सो रकममा पेस्तोल खरिद गरी दाजुलाई उपलब्ध गराएको प्रारम्भिक बयानमा उल्लेख छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको थियो ।

प्रयोग भएको पेस्तोल घटना भएको केही दिनपछि मलंगवा नगरपालिका–४ ढाका बोर्डर टोलस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र स्थानीय बालकले फेला पारेका थिए । नक्कली ठानेर पट्काउँदा पेस्तोल चलेर बालक घाइते भएका थिए । सोही हतियार नै घटनामा प्रयोग भएको पुष्टि भएको छ ।

प्रहरीले गणेशलाई फागुन १२ गते मलंगवा–८ बाट, चन्द्र किशोरलाई फागुन १३ गते बलरा–४ बाट र विजयलाई फागुन १४ गते महोत्तरी रामगोपालपुर–५ बाट पक्राउ गरेको छ । गणेशको साथबाट एक थान भिभो वाई १९एस मोबाइल तथा घरबाट भिभो टी ३ ५जी र बेनको ई ६ मोबाइल बरामद गरिएको छ । ती मोबाइल तथा अन्य डिजिटल प्रमाणको प्राविधिक परीक्षण भइरहेको छ ।

तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुन सक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।

प्रहरीले घटनालाई पूर्वयोजनाबद्ध आपराधिक षड्यन्त्रका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com