काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले चुनाव लड्न आफूसँग पैसा नभएको भन्दै सहयोगको अपिल गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै शाहीले आसन्न निर्वाचनका लागि आर्थिक सहयोग माग्नुका साथै मतदातालाई आफ्नै खर्चमा गाउँ फर्कन आग्रह गरेका हुन्।
कालोबजारी र भ्रष्टाचारीको पैसाले चुनाव जितेर सत्तामा पुग्दा उनीहरूकै संरक्षण गर्नुपर्ने बाध्यता हुने भन्दै शाहीले जनताको सहयोगमा चुनाव लड्न चाहेको बताएका छन्।
उनले भने, ‘अहिले निर्वाचनमा पैसा त चाहिन्छ, तर त्यो पैसा कहाँबाट र कसरी आउँछ ? कालोबजारी, दुई नम्बरी र भ्रष्टाचारीबाट पैसा लिएर खर्च गर्यौं भने भोलि पदमा पुगेपछि उनीहरूकै संरक्षण गर्नुपर्छ। भ्रष्टाचारीलाई जोगाउँदा देश नै तहसनहस हुन्छ।’
शाहीले आफूसँग मतदाता ओसार्नका लागि गाडी रिजर्भ गर्ने आर्थिक हैसियत नभएको प्रष्ट पारेका छन्। ‘मसँग पैसा छैन, मैले गाडी हाल्न सकेको छैन। मसँग तपाईंहरूलाई गाडी भाडा दिने अवस्था छैन,’ शाहीले भनेका छन्, ‘अहिलेको १/२ हजार वा ५ हजार रुपैयाँ गाडी भाडा आफैं हालेर जुम्ला आउनुभयो भने भोलि जुम्ला र कर्णालीको भविष्य बन्छ।’
उनले यो निर्वाचनलाई केवल कागजको टुक्रामा छाप लगाउने प्रक्रिया मात्र नभई सिंगो कर्णाली र जुम्लाको भविष्य निर्धारण गर्ने अवसरको रूपमा लिन मतदातालाई आग्रह गरे।
देश तथा विदेशमा रहेका जुम्लावासीलाई अन्यत्र नबसी मतदानका लागि जिल्ला फर्कन उनले अनुरोध गरेका छन्।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया