काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावअघि आफ्नो अन्तिम सार्वजनिक सम्बोधन रोल्पा बाट गर्ने भएका छन्।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार लिबाङ स्थित टुँडिखेलमा आयोजित सभामा उनले मतदातालाई सार्वजनिक अपिलसहित सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
चुनाव नजिकिँदै जाँदा देशभर अन्य ठूला कार्यक्रम नरहेको अवस्थामा रोल्पाबाटै निर्णायक सन्देश दिने तयारी गरिएको सचिवालयले जानकारी दिएको छ। कार्यक्रमलाई भव्य बनाउन पार्टीले व्यापक तयारी गरिरहेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए। उनका अनुसार लिबाङमा आयोजना हुने सभामा करिब १५ हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
‘नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैंमा विशेष अर्थ राख्छ,’ उनले भने, ‘निर्णायक घडीमा रोल्पाबाटै सम्बोधन गर्नु रोल्पाली जनताप्रति उहाँको सम्मानको संकेत पनि हो।’
१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा प्रचण्डले लामो समय रोल्पामा बिताएका थिए। हाल उनी रुकुम पूर्व बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
लिबाङमा हुने उक्त सभामा प्रचण्डसँगै रुकुम पूर्वका उम्मेदवार वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वसभामुख ओनसरी घर्तीमगर लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया